एमाले समर्थित अभिभावकले मरिणको मावि कार्तिकेका अध्यक्षलाई कुटपिट
मरिण, ४ बैंशाख । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ को कार्तिके माबिका अभिभावकहरुले व्यवस्थापन समिति अध्यक्षलाई बन्धक बनाएर कुटपिट गरेका छन् । विद्यालयका प्रधानाध्यापक शुशिला गुर्मछान, समितिका एक जना सदस्य लगाएत केही एमाले समर्थित अभिभावकहरु मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर सिन्जाली मगर लगाएत केही सदस्यहरुलाई कुटपिट गरेका हुन् ।
अभिभावकहरुको कुटाईबाट समितिका अध्यक्ष सिन्जाली मगर, सदस्य मेनुका फुयाल गम्भिर घाईते भएका मरिण गाउँपालिका वडा नं. १ का अध्यक्ष हिरा बहादुर गुर्मछानले जानकारी दिनुभयो ।
झगडा भएको जानकारी पाए पछि मिलाउन जादाँ आफुँलाई समेत हातपात गरेको वडा अध्यक्ष गुर्मछानले बताउनुभयो । घाईते सिन्जाली मगर र फुयाललाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको अध्यक्ष गुर्मछानले बताउनुभयो । विद्यालयको अस्थायी ट्रस भवन बनाउने बिषयमा छलफल गर्न बसेको अभिभावक बैठकमा सहभागी एमाले समर्थित अभिभावकहरुले अध्यक्षलाई विद्यालय कोठामै दिनभर थुनेर राखी कुुटपिट गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । भवन बनाउने बिषयमा बैठक बसे पनि छिमेकी आधारभुत विद्यालय खलंगामा मावि संचालनका लागि सहमती दिने बिषयको कुरा निकालेर समितिका अध्यक्ष माथि कुटपिट भएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई छ । मरिण गाउँपालिकाले वडा नं. १ मै रहेको आधारभुत विद्यालय खलंगामा ९ र १० कक्षा संचालनको लागि अनुमती दिन प्रक्रिया थालेको छ ।
गाउँपालिकाबाट अनुमती पाउन छिमेकी विद्यालयको सहमती चाहिने भएकाले आधारभुत विद्यालय खलंगाले कार्तिके माविसँग सहमती माग गरेको थियो । कार्तिके माबिका अध्यक्ष लगाएत बहुमत सदस्यहरुले सहमती दिने निर्णय गरेका थिए । तर विद्यालयका प्रधानाध्यापक, एक शिक्षक प्रतिनिधि र एक सदस्यले भने सहमती दिन असहमती जनाएका थिए । सोही बिषयलाई लिएर आईतवारको बैठकमा झडपको स्थिती सिर्जना भएको बताईएको छ ।
No comments:
Post a Comment